बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा भएको आक्रमणमा कम्तीमा सातजनाको ज्यान गएको छ।
रोहिंग्या शिविरको पाठशालामा शुक्रबार आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउनुका साथै चक्कु प्रहार गरेका थिए ।
तीन हप्ता पहिले रोहिंग्या समुदायका एक नेताको उनकै कार्यालय अगाडि गोली हानी हत्या भएको थियो। त्यसयता म्यानमारबाट आएका ९ लाखभन्दा बढी रोहिंग्या शरणार्थीको बसोबास रहेको बंगलादेशी शिविर तनावपूर्ण अवस्थामा छ।
शुक्रबार भएको घटनामा चारजनाको घटनास्थलमै र अरु तीनजनाको उपचारको क्रममा ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटना बालुखली शिविरमा भएको हो।
घटनामा अरु केही मानिस घाइते भएका छन्। घटनालगत्तै एक आक्रमणकारीलाई पक्राउ गरिएको र अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।