रुसले जुनसुकै बेलामा पनि युक्रेनमा आक्रमण गर्नसक्ने भन्दै अमेरिकाले चेतावनी दिएको छ ।
ह्वाइट हाउसले रुसले युक्रेनको सीमामा अत्यधिक संख्यामा सेना पठाएकाले अवस्था खतरनाक रहेको जनाएको हो ।
विदेशमन्त्री एन्टोनी ब्लिकंनले मंगलबार यस विषयमा रुसी समकक्षीसँग छलफल गरेको र चाँडै नै जेनेभामा भेटवार्ता गर्ने ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले बताइन् ।
समाचार एजेन्सी एएफपीका अनुसार भेटवार्ता शुक्रबार हुनेछ । यसभन्दा पहिला ब्लिंकनले युक्रेन र युरोपीय देशका प्रतिनिधिसँग भेटघाट गर्नेछन् ।
यता नेटोले पनि यदि रुसले युक्रेनको विरुद्ध कुनै कारबाही गरे त्यसको भारी मूल्य उठाउनुपर्ने चेतावनी दिएको छ ।
नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले पत्रकार सम्मेलनमा यो सैन्य गठबन्धनले युक्रेनको साथ दिने बताएका छन् ।
उनले रुसले युक्रेनमाथि हमला गरे उसमाथि आर्थिक र राजनीतिक प्रतिबन्ध लगाइने चेतावनी दिए।
यता रुसका विदेशमन्त्रीले रुसलाई गलत तरिकाले पेस गरेको आरोप लगाएका छन् । सीमामा सैनिकको अभ्यास चलेको तर अमेरिकाले बढाइचढाइ गरेको उनको आरोप छ ।