logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुसले अमेरिकी प्रतिबन्धको धम्कीको सामना गर्ने, पछि नहट्ने


अंकुरण खबर
741
Shares

शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरू बीचको फोनवार्ता अघि मस्कोले युक्रेनका विषयामा अमेरिकी प्रतिबन्धको धम्कीको सामना गर्ने र पछि नहट्ने वासिङ्टनस्थित रुसी दूतावासले मंगलबार जनाएको छ।

‘अमेरिकी प्रतिबन्धहरूको धम्की सुनेर हामी पछि हट्ने र चुप लाग्ने छैनौं’ दूतावासले फेसबुकमा लेखेको छ,‘यो तनाव उत्पन्न गर्ने मस्को होइन, वाशिंगटन हो।’

पछिल्लो समय रुसले युक्रेनमा आक्रमण गर्नसक्ने भन्दै अमेरिका लगायत नेटोमा आवद्ध देशहरुले चिन्ता व्यक्त गरिरहेका छन्।

हालै मात्र अमेरिकी सैन्य प्रमुख मार्क मिलीले युक्रेनमाथि रुसी हमला ‘भीषण हुन सक्ने’ भन्दै त्यसबाट ठूलै सङ्ख्यामा हताहती हुन सक्ने चेतावनी दिएका थिए।

अमेरिकाका अनुसार युक्रेनको सीमा नजिकै १ लाख रुसी सेनाको उपस्थिति छ। रुसले शीत युद्ध यताकै सबभन्दा ठूलो संख्यामा सो क्षेत्रमा सेना तैनाथ गरेको हो।

तर रुसले आक्रमणको योजना रहेको अस्वीकार गर्दै आएको छ र युक्रेनलाई उपलब्ध अमेरिकी सहयोग खतरा रहेको बताउँछ।

शुक्रबार  मात्र अमेरिकी राष्ट्रपति जो बाइडनले छिटै पूर्वी युरोपमा नेटो उपस्थिति बलियो बनाउन सानो सङ्ख्यामा सैनिकहरू पठाउने बताएका थिए। उनले ती सैनिकहरू कहाँ पठाइने हो त्यो भने बताएका थिएनन्।

यसबीचमा अमेरिकी सेनाहरु युक्रेन पुगिसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।