यही मंसिर १२ गते हैदराबादकी एक डाक्टरको बलात्कारपछि विभत्स हत्या भएको घटनाले सारा विश्वलाई स्तब्ध बनाएको छ ।
हैदराबादकी भेटनरी डाक्टर प्रियंका रेड्डीको बलात्कारपछि ज्युँदै जलाएर गरिएको हत्याको भारतभर व्यापक विरोध भइरहेको छ । बलिउड कलाकारदेखि महिला अधिकारकर्मीले हत्यारालाई कडा कारबाही गर्नुपर्ने माग गरिरहेका छन् ।
प्रहरीले २६ वर्षीया रेड्डीको सामूहिक बलात्कारपछि जलाएर हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ गरिएका चारैजनामाथि स्कुटरको टायर पङ्चर भएपछि बीच बाटोमा नै फँसेकी रेड्डीलाई बलात्कारपछि हत्या गरेको आरोप लगाइएको छ ।
हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये एकजना ट्रक ड्राइभर र एकजना क्लिनर समेत छन् । चारैजनाले रेड्डीलाई सात घण्टासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको र बलात्कारपछि जलाएर हत्या गरेको आरोप लागेको छ ।
आरोपीमध्ये ३ जना हैदराबादबाट १६० किलोमिटर टाढा रहेको गाउँका बासिन्दा हुन् भने चौथो आरोपी छिमेकी गाउँका हुन् । अदालतले दोषी ठहर नगरिसकेकोले आरोपीका परिवारबारे कुनै जानकारी दिइएको छैन ।
खेतिकिसानी र मजदूरी गरेर जीवन गुजारा गर्ने गाउँका अन्य मानिसहरु भने आफ्नै गाउँमा बासिन्दाले त्यस खालको जघन्य अपराध गरेको भनेर विश्वास गर्नै सकेका छैनन् । ‘हामीहरु खेति किसानी गर्ने मजदूर हौं’, एक जना गाउँलेले भने, ‘जीवन धान्नका लागि हामीले विभिन्न खालको मजदूरी गर्नुपर्छ ।’
त्यस्तै एकजना आरोपीका बाबुले आफूलाई घटनाबारे थाहा नभएको बताएका छन् । तर आफ्नो छोरा दोषी पाइएमा फाँसीको सजाय दिनुपर्ने उनको भनाइ छ । ‘मेरा २ छोरा र १ छोरी छन्, भविष्यमा मेरी छोरीमाथि यस्तो घटना भयो भने म चुप लागेर बस्दिनँ’, ती बाबुले भने, ‘यदि मेरो छोराले बलात्कारपछि जलाएर हत्या गरेको पुष्टि भए उसलाई फाँसी दिनुपर्छ ।’
तर अर्का आरोपीकी पत्नीले भने आफ्ना पतिले हत्या गर्न नसक्ने बताइन् । हाल ७ महिनाकी गर्भवती ती महिलाले आफूहरुले प्रेम विवाह गरेको र आफ्नो पतिले त्यस्तो अपराध गर्न नसक्ने दाबी गरिन् ।
‘हाम्रो प्रेम विवाह भएको थियो । मैले उनलाई डेढ सालदेखि चिन्दै आएको छु । ८ महिनाअघि हाम्रो विहे भएको थियो । पहिला उनका पिता विवाहका लागि तयार हुनु भएको थिएन तर पछि तयार हुनु भयो’, उनले भनिन् ।
घटना सुनेर आफू निकै दुःखी भएको समेत उनले बताइन् । ‘पीडित पनि म जस्तै महिला हुन् । उनको हत्या भएको सुन्दा निकै दुःख लागेको छ । मेरा पतिले अपराध गरेका हुन् वा होइनन् भनेर मैले भन्न सकिन्नँ तर जे भयो त्यो नराम्रो भयो’, उनले थपिन् ।
साथै घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ट्रक ड्राइभरका बाबुले समेत घटनाबारे छोराले नै सुरुमा जानकारी दिएको बताएका छन् । आफ्नो छोरो २८ नोभेम्बरमा घर आएको भन्दै उनले भने( ‘उसले हामीलाई आफूले चलाएको ट्रकले स्कुटरमा सवार एक महिलालाई ठक्कर दिएर दुर्घटना भएको र ती महिलाको मृत्यु भएको बताएको थियो ।’
‘मैले उसलाई राम्रोसँग ट्रक चलाउनु पर्दैन भनेर गाली समेत गरेँ । उसले पहिलो पटक हामीलाई आफ्नोबारे बताएको थियो । सोही रात उसलाई प्रहरीले गिरफ्तार गरेपछि हामीलाई उसले के गरेको हो भन्ने थाहा भयो’, उनले थपे ।
हाल पक्राउ परेका चारैजनालाई १४ दिनका लागि हिरासतमा राखिएको छ । त्यसपछि उनीहरुलाई जेल पठाइने छ । प्रहरीले घटनाबारे छानबिन गर्न भन्दै उनीहरुलाई हिरासतमा राखेको बताएको छ । उनीहरुको सुरक्षालाई ख्यालमा राखेर प्रहरीले आरोपीबारे कुनै जानकारी दिएको छैन ।
प्रहरीले तयार गरेको रिपोर्टमा चारैजना अभियुक्तलाई ‘अपहरण गरेको, डकैती गरेको, सामूहिक बलात्कारपछि नृशंस हत्या गरेको आरोपमा पक्राउ गरिएको’ उल्लेख छ । तेलंगानाका मुख्यमन्त्री केसीआरले घटनाको सुनुवाइ फास्ट ट्र्याक कोर्टमा गर्न र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिएका छन् । एजेन्सी